Sunday, April 23, 2017

बस दुर्घटना : उपचारमा अस्पतालको चरम लापरबाही

पोखरा वैशाख ९ । 

मुस्ताङको कागबेनीमा शनिबार दिउँसो तीर्थयात्री सवार बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।





 मुक्तिनाथ दर्शन गर्न गएका तीर्थयात्री बोकेर जोमसोमतर्फ फर्कंदै गरेको ना५ख ६०६७ नम्बरको बस कागबेनीनजिक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारकाक्रममा जिल्ला अस्पताल मुस्ताङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते ३० जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।
मृत्यु हुनेमा भक्तपुर जिल्ला, महालक्ष्मी नगरपालिका–२ इमाडोलका ५५ वर्षीय लिला खड्का, सोही नगरपालिका–८ की सीता तिमिल्सिना, काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, काठमाडौं–३२ कै ४५ वर्षीय पुरुषोत्तम ढकाल र काठमाडौं–३ की ७० वर्षीया कान्छी खड्का रहेका छन् ।
गम्भीर घाइते भएका १२ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् पोखरा ल्याइ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मुस्ताङमा शनिबार भएको बस दुर्घटनाका घाइतेहरुको उपचारमा पोखराको मणिपाल शिक्षण अस्पतालको चरम लापरबाही देखिएको छ ।
सेनाको हेलिकोप्टरमार्फत् दिउँसो घाइते ल्याइएपनि अस्पतालमा चलेको आन्दोलनको कारण आधाघन्टाजति बिरामीलाई अस्पतालअगाडि हेलिकोप्टरमै राखिएको थियो ।
प्रशासनले बिरामीलाई उपचार गराउन आग्रह गर्दा अस्पतालले बिरामी नलिने भनेपछि पोखराका विभिन्न अस्पतालका एम्बुलेन्स बोलाएर बिरामीलाई उपचारार्थ लगिएको थियो ।
वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक किशोर लम्सालले अस्पतालले बिरामी भर्ना लिन नमानेपछि अरु अस्पतालमा पठाएको जानकारी दिए ।
सेनाको हेलिकोप्टरबाट बिरामी लिएर आएका पाइलटले भने–‘खराब मौसममा जोखिम मोलेर घाइतेको उद्धार गरी अस्पताल ल्याइयो, घाइतेलाई आधाघन्टा हेलिकोप्टरमा राख्नुपर्दा हाम्रो दुःखको के अर्थ ?’
उपचारार्थ पोखरा ल्याइएका १२ जना घाइतेको हात, खुट्टा, कम्मर र टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

No comments:

Post a Comment