Wednesday, April 26, 2017

बस दुर्घटनाका घाइतेलाई उपचार नगर्ने मणिपाल र चिकित्सक दुबै दोषी ठहर

स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलले पोखराको मणिपाल मेडिकल कलेज र चिकित्सकसँग स्पस्टिकरण मागेर मंगलबार काठमाडौं फर्किएको छ। सोमबार अस्पताललाई स्पष्टिकरण बुझाएको मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ संयोजकको टोलीले शनिबारको घटनाको छानबिन गरि फर्किएको हो। मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकोप्टरबाट मणिपाल ल्याइएकोमा उपचार गर्न नसकिने भन्दै कलेज प्रशासनले अन्यत्र पठाएको थियो। उक्त घटनापछि आइतबार स्वास्थ्य मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो।

कार्यदल संयोजक श्रेष्ठले छानबिनबाट अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी रहेको बताए। उनले को कति दोषी छ भन्ने बारेमा कानुन हेरेर कारबाही अगाडि बढाउने बताए। उनले चिकित्सकहरुको समस्या विरामीसँग नभई व्यवस्थापन हुँदा पनि बिरामीको उपचार नगर्नु दण्डनीय भएको बताए। उनले प्रशासनलाई दवाव दिने अन्य उपाए भए पनि चिकित्सकहरुले ओपिडि र अनकल विरामी नहेर्नु चिकित्सकको दोष भएको बताए। उनले अस्पतालले चिकित्सकहरुलाई विरामी आएको खबर नगरेर दोषी देखिएको बताए। ‘हामीले व्यवस्थापनमा के के कमजोरी भयो भनेर अध्ययन गरेका छौ,’ उनले भने, ‘ती कम्जोरीहरुलाई कानुनले कसरी दण्डनीय गरेको छ, त्यसै अनुसार कानुनी कारबाही अगाडि बढ्छ।’ उनले यस्तो समस्या आगामी दिनमा कुनै पनि अस्पतालमा नदोहोरिने गरि समाधानको बाटो खोज्ने बताए। मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय कार्यदल सोमबार नै पोखरा आएर प्रारम्भिक अध्ययन पनि थालेको थियो। कार्यदलमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डिराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा छन्। उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख तारानाथ शर्माले सघाएका थिए।

No comments:

Post a Comment